तीन आमा र तीन पिताका छोरा हुन् शाहिद कपुर ! जान्नुहोस् कसरी भयो यस्तो ?

मुम्बइ। बलिउड अभिनेता शाहिद कपुर दोस्रो पटक पिता बन्दैछन् । उनकी पत्नी मीरा राजपुत गर्भवती छिन् । अहिले यी दुईकी मीशा नामकी छोरी छिन् । शाहिद दोस्रो पटक पिता बन्न लागेको खबरले उनको परिवारमा खुसी छाएको छ । यद्यपि तपाइँलाई यो थाहा पाउँदा आश्चर्य लाग्न सक्छ कि शाहिद आफैं तीन आमा र तीन पिताका छोरा हुन् ।
शाहिदलाई जन्म दिने पिता पंकज कपुर हुन् । शाहिदकी आमा नीलिमाको पहिलो विवाह अभिनेता पंकज कपुरसँग १९७५ मा भएको थियो । १९८१ मा शाहिद जन्मिए । उनको जन्मको ३ वर्षपछि १९८४ मा नीलिमा र प्रकजको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि शाहिद नीलिमासँगै रहन थालेका थिए ।
नीलिमासँग सम्बन्धविच्छेदपछि पंकज कपुरले १९८९ मा अभिनेत्री सुप्रिया पाठकसँग बिहे गरे । यसरी सुप्रिया शाहिदकी सौतेनी आमा बनिन् । पंकज र सुप्रियाका दुई सन्तान छन् । छोराको नाम रुहान कपुर र छोेरीको नाम सना कपुर हो । सना फिल्म शानदारमा पिता पंकज र सौतेनी दाजु शाहिदसँगै देखिइसकेकी छिन् ।
१९९० मा नीलिमाले अभिनेता राजेश खट्टरसँग विवाह गरिन् । विवाहसँगै राजेश शाहिदका दोस्रो पिता बने । यद्यपि यो विवाह पनि लामो समय टिकेन । २००१ मा यी दुईको सम्बन्धविच्छेद भयो । यो जोडीले १९९५ मा एक छोरालाई जन्म दिएका थिए जसको नाम ईशान खट्टर हो । २२ वर्षका ईशानले हालै फिल्म यिबोन्ड द क्लाउड्स बाट बलिउड डेब्यू गरेका छन् । ईशान आमासँगै बस्छन् ।
राजेश खट्टरसँग सम्बन्धविच्छेद भएपछि आमा नीलिमाले उस्ताद रजा अली खानसँग तेस्रो विहे गरिन् । यससँगै उस्ताद रजा शाहिदका तेस्रो पिता बने । उता राजेश खट्टरले पनि नीलिमासँग सम्बन्धविच्छेदपछि अभिनेत्री वन्दना सजनानीसँग बिहे गरे । यसरी बन्दना शाहिदकी तेस्रो आमा भइन् । रोचक त के भने शाहिद आफ्ना सबै मातापितालाई निकै माया गर्छन् । सबैसँग उनको राम्रो सम्बन्ध छ । उनी आफ्ना सौतेनी भाइ बहिनीसँग पनि निकै नजिक छन् ।

Comments