जनकपुरमा आज जानकी नवमी मनाईँदै, प्रदेश २ मा सार्वजनिक विदा

जनकपुरमा मंगलबार जानकी नवमी एवं जानकी जन्म महोत्सव धुमधामसित मनाईँदैछ । आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ ।
जानकी नवमीको अवसरमा मंगलबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिरलगायतको मन्दिरहरुमा पूजा–आजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।
विगतका वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउन लागिएको हो । सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलहीझैँ सिंगारिएको छ ।
यस वर्ष वैशाख ३ गतेदेखि १६ गतेसम्म १४ दिन मनाउन लागिएको छ । मन्दिरको बाहिरी र भित्रि परिसरमा टेन्ट, पण्डाल निर्माण गरिएर धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।
सीताको जन्मोत्सवमा सहभागी हुन तथा पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटकहरु जनकपुर आएका छन् ।
जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी रहेकाले भव्यता पूर्वक मनाउन लागिएको जानकी मन्दिरका सह महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । जानकी नवमीको अवसरमा मंगलबार प्रदेश नम्बर २ सरकारले सार्वजनिक विदाको घोषणा समेत गरेको छ ।
Source:उज्यालाे

Comments